काठमाडौं । नेपाल समाजवादी मोर्चाले फेसबुक युट्युब इन्स्ट्राग्राम जस्ता सामाजिक संजालहरु तत्काल बन्द गरी नियमनपछि मात्र खोल्न सरकारसँग माग गरेको छ । मोर्चाले फेसबुक आइडीमार्फत विभिन्न अपराधका घटना घटिरहेको, नक्कली फेसबुक एकाउण्टबाट त्यस्ता घटना बढीरहेका कारण दोषीलाई आवश्यक कारबाहीको दायरामा ल्याउनसमेत समस्या भएकाले सामाजिक संजाल तत्काल बन्द गरेर नियमन गरी पुन:संचालनको माग गरेको हो ।
मोर्चाका संयोजक युवराज सफलले विज्ञप्तीमार्फत नेपालमा फेसबुक चलाउनै पर्ने भए फेसबुकको मेटा कम्पनीलाई कानुन एवम् करको दायरामा ल्याई नेपाली फेसबुक युजरहरुलाई आधिकारिक कागजात र विवरण राखेर मात्र फेसबुक एकाउण्ट खोल्न मिल्ने व्यवस्था मिलाउने गरी संचालन गर्ने गराउने गरी आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।
त्यसैगरी, हाल नेपालमा युट्युबमार्फत विभिन्न व्यक्तिहरुले युट्युब च्यानलमा बोलेर अपराधिक सोच बढाउने, विकृति विसंगति निम्त्याउने, चरित्र हत्या गर्ने, झुठा रिर्पोट दिएर समाचार बनाउने जस्ता भ्रम सिर्जना गर्ने कार्य गरेकोले युट्युव च्यालनललाई समेत कानुन एवम् करको दायरामा ल्याएर मात्र संचालन गर्नु आवश्यक भएको मोर्चाले बताएको छ ।
संयोजक सफलले युट्युब च्यानल खोल्न समेत सम्बन्धित व्यक्तिले आफ्नो आधिकारिक कागजात एवम् व्यक्तिगत विवरण राखी नेपाल सरकारको निकायमा दर्ता गरेर मात्र चलाउन सक्ने व्यवस्था मिलाउन माग गरेका छन् । मोर्चाले उक्त व्यवस्था मिलाउनु अघि फेसबुक, युट्युव र इन्स्ट्राग्रामलाई तत्काल बन्द गरी निश्चित मापदण्ड बनाई सो पश्चात मात्र संचालन हुने व्यवस्था मिलाउन संचार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
साथै, सरकारसमक्ष बिना पहिचानको फेसबुक एकाउण्ट, युट्युब च्यानल र इन्स्ट्राग्राम एकाउण्ट तत्काल डिलेट गर्ने व्यवस्था मिलाउनसमेत समाजवादी मोर्चाले ध्यानाकर्षण गराएको छ ।
