काठमाडौं । आर्थिक मन्दीले विकास बैंकहरूको व्यवसायमा पनि असर परेको छ । बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार अधिकांश विकास बैंकको खराब कर्जा बढेको छ । वित्तीय विवरणअनुसार विकास बैंकहरूको औसत खराब कर्जा दुई दशमलव ४९ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव १३ प्रतिशत विन्दुले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा विकास बैंकहरूको खराब कर्जा एक दशमलव ३६ प्रतिशत थियो ।
बजारमा आर्थिक गतिविधि न्यून भई आम्दानी घटेपछि ऋणीले बैंकहरूको साँवा ब्याज चुक्ता गर्न सकिरहेका छैनन् । यही कारण बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्दै गएको छ । विकास बैंकहरूबाट कर्जा लिएका ऋणीले पनि समयमै सावाँ÷ब्याज चुक्ता गर्न नसक्दा खराब कर्जाको आँकडा बढ्दै गएको हो ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकमध्ये पहिलो त्रैमासिक वित्तीय विवरणमा ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा सामान्यरूपमा घटेको छ । बाँकी १६ वटा विकास बैंकको खराब कर्जा बढेको छ । सबैभन्दा बढी खराब कर्जा क्षेत्रीयस्तरको सप्तकोशी डेभलपमेन्ट बैंकको छ । सबैभन्दा कम खराब कर्जा राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १८ दशमलव पाँच प्रतिशत कर्जा खराब छ भने मुक्तिनाथको एक दशमलव ४९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा सप्तकोशीको खराब कर्जा १४ दशमलव १९ प्रतिशत थियो भने मुक्तिनाथको शून्य दशमलव ७७ प्रतिशत थियो ।
क्षेत्रीयस्तरका विकास बैंकहरू नारायणी, साल्पा र एक्सेल डेभलपमेन्ट बैंकको खराब कर्जा पनि उच्च दरमा बढेको छ । यी तीन बैंकहरूको खराब कर्जा क्रमशः १७ दशमलव ८१ प्रतिशत, आठ दशमलव ४१ प्रतिशत र सात दशमलव ५७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूको खराब कर्जा क्रमशः चार दशमलव ६७ प्रतिशत, सात दशमलव ७९ प्रतिशत र चार दशमलव ४८ प्रतिशत थियो ।
कर्पोरेट डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको खराब कर्जा क्रमशः चार दशमलव ८७ प्रतिशत, चार दशमलव ७४ प्रतिशत, चार दशमलव ५५ प्रतिशत र चार दशमलव २६ प्रतिशत खराब कर्जा देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको खराब कर्जा क्रमशः चार दशमलव ६९ प्रतिशत, तीन दशमलव १२ प्रतिशत, चार दशमलव ४८ प्रतिशत र एक दशमलव ३० प्रतिशत थियो । यस्तै, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक र कामना सेवा विकास बैंकको खराब कर्जा क्रमशः तीन दशमलव ९७ प्रतिशत, तीन दशमलव ७५ प्रतिशत र तीन दशमलव ४८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूको खराब कर्जा क्रमशः तीन दशमलव ४६ प्रतिशत, दुई दशमलव ५० प्रतिशत र तीन दशमलव ४० प्रतिशत थियो ।
लुम्बिनी विकास बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा पनि क्रमशः तीन दशमलव ४७ प्रतिशत र तीन दशमलव २८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकहरूको खराब कर्जा क्रमशः तीन दशमलव दुई प्रतिशत र दुई दशमलव ३७ प्रतिशत थियो । गरिमा विकास बैंक र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको खराब कर्जा पनि क्रमशः दुई दशमलव ६८ प्रतिशत र दुई दशमलव ५९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यी दुई बैंकहरूको खराब कर्जा एक दशमलव ७१ प्रतिशत र एक दशमलव शून्य नौ प्रतिशत थियो ।
आर्थिक मन्दीले बजारमा वस्तुको माग घटेको छ । बिक्री कम भएपछि नगद प्रवाह पनि खुम्चिएको छ । सामग्री बनिसकेपछि छिटो बिक्री भएमा नगद प्रवाह बढ्छ भने ढिलो बिक्री भएमा कम हुन्छ । अहिले बजारमा माग नहुँदा वस्तु बिक्री घटेको छ । नगद प्रवाह ढिलो भएका कारण ऋण लिएर उद्यम गर्नेहरूले समयमा कर्जा चुक्ता गर्न सकेका छैनन् । कर्जाको किस्ता समयमा भुक्तान नहुने गरेकाले खराब कर्जा बढेको देखिएको हो ।
अर्कोतर्फ कोभिड–१९को प्रभाव कम भएपछि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलाई तीव्र विस्तार गरेका थिए । तर अहिले त्यो कर्जा असुल गर्न कठिन भएपछि निष्क्रिय कर्जा बढेको देखिन्छ । बैंकहरूले कर्जा लगानीका बेला ध्यान नदिएको परिणाम अहिले देखिएको विश्लेषण पनि हुने गरेको छ ।