काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टेकनाथ रिजाल, केशव तुलाधर, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ । आज(शुक्रबार) उच्च अदालत पाटनले यस्तो आदेश दिएको हो ।
उता, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न नसकिने निष्कर्ष निकालेको हो भने छोरा सन्दिपलाई धरौटीमा रिहा गर्न सकिने निर्णय गरेको हो । यससँगै टोपबहादुर रायमाझी, सानु भण्डारी, सन्देश शर्मालगायत प्रतिवादीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहनुपर्ने भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण रिहाइको हकमा दुई जना न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशले मुद्दा हेर्ने भएका छन् । न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहा गर्न सकिने राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले तेस्रो इजलासमा पठाउनुपर्ने राय दिएकाले उनी धरौटीमा रिहा हुन सकेनन् । पाटन उच्च अदालतका प्रवक्ता तिर्थराज भट्टराईका अनुसार दुई न्यायाधीशको राय बाझिएकाले अर्का न्यायाधीशको इजलासले दुईमध्ये जसको रायलाई सदर गर्नेछन् त्यही नै बालकृष्ण खाँणको हकमा लागु हुने छ ।
पूर्णपाठ