काठमाडौं । वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । दुई लाख रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका लुभु बस्ने सिन्धुपाल्चोकका ४६ वर्षीया भवानी बोहरालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बोहराले दुई जनालाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर ठगी कार्य गरेका थिए । उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर लुभुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।