पर्सा । प्रहरी हुँ भन्दै व्यापारीहरूसँग महिनावारी रकम उठाएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । बारा आदर्श कोतवाल गाउँपालिका–८ लक्ष्मीपुर बस्ने ५५ वर्षीय गोबिन्द महतो कोईरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोईरीले ५/६ महिनादेखि आफूलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएर आएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग रकम उठाउने गर्थे ।
रकम उठाउँदै हिडेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनलाई वीरगञ्ज महानगरलिकास्थित सुगौली विर्ताबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।