काठमाडौं, जेठ ६
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वैशाख महिनाको तलब दिएका छन् । प्रधानमन्त्री ओलीले आफूले पाउने वैशाख महिनाको ७७ हजार दुई सय ८० रुपैयाँ तलब उक्त कोषमा उपलब्ध गराएका हुन् । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पु-याउन कोषको स्थापना गरेको थियो । उक्त कोषमा व्यक्ति, संघ/संस्था, सरकारी कार्यालयहरुले पनि सहयोग रकम दिँदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबार साँझसम्म प्रधानमन्त्री ओलीले दिएकोसहित कोषमा दुई अर्ब २६ करोड १० लाख २१ हजार दुई सय ५३ रुपैयाँ २४ पैसा जम्मा भइसकेको छ ।
सोमबार मात्रै कोषमा एक करोड ३८ लाख २७ हजार एक सय २१ रुपैयाँ ६६ पैसा जम्मा भएको छ । सोमबार प्रधानमन्त्री ओलीका साथै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले एक करोड १६ लाख रुपैयाँ, रौतहटको परोहा नगरपालिकाले दुई लाख २५ हजार आठ सय ७७ रुपैयाँ, कञ्चनपुरको बेलौरी नगरपालिकाले एक लाख ९६ हजार तीन सय ५३ रुपैयाँ दश पैसा, नेवाः देय् दबूले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, नेपाल एग्रिकल्चरल इन्ट्राप्रिनियर एसोसिएसनले एक लाख र अन्य नाम नखुलेका विभिन्न व्यक्ति तथा संघ÷संस्थाले १५ लाख ९३ हजार सात सय ८० रुपैयाँ ५६ पैसा सहयोग गरेका छन् । एक लाख रुपैयाँभन्दा कम सहयोग गर्नेहरुको रकम एकमुष्ट सार्वजनिक गरिएको हो ।