विराटनगर । विराटनगरको व्यापार–व्यवसाय सुनसानजस्तै बन्न थालेका छ । कोभिड १९ ले थलिएको बजारमा केही सहजता आउने आशा गरेका यहाँका व्यवसायीहरू पछिल्लो समय व्यापार व्यवसाय सोचेजस्तो नहुँदा पलायन हुने अवस्थामा पुगेका छन् ।
विगतका वर्षहरूमा ठूला–ठूला चाडपर्वहरू सकिएपछि खचाखच हुने विराटनगर हाल सुनसान छ । व्यापारीहरू पसल खोलेर ग्राहक पर्खेर बसिरहेका हुन्छन् तर ग्राहक भने एक दुई जना फाट्टफुट्टरूपमा मात्र आउने गरेको व्यवसायीहरूको गुनासो छ । व्यापार व्यवसायबाट अब परिवार पाल्न पनि समस्या हुन थालेको उनीहरूको गुनासो छ । केही वर्ष अगाडिसम्म यहाँका पसलहरूमा दुई तीन जनाले समेत सामान दिन भ्याइनभ्याइ हुने गथ्र्यो । कोभिडको महामारीले थला परेको बजारमा पछिल्लो समय देखापरेको आर्थिक संकटका कारण उपभोक्तासँगै दैनिक ज्यालादारी, मजदुरी र व्यवसाय, उद्योग, कलकारखानामा काम गर्नेहरूको आम्दानी समेत घटेकाले व्यापार पनि घटेको हुने सक्ने यहाँका व्यापारीहरू बताउँछन् ।
सुुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुुँदै आएका केही उद्योगहरूले आधा उत्पादन नै कटौती गरेका छन् । उद्योगहरूको उत्पादनसँगै मजदुुरहरूको संख्यामा समेत कटौती गरेपछि पछिल्लो समय बजारमा ठूलो आर्थिक संकट परेको व्यवसायीहरूको भनाइ छ । दैनिक उपभोग्यका लागि नभइनहुने वस्तुबाहेक अन्य पसलजस्तै कपडा, जुत्ता चप्पल, इलेक्ट्रिक, हार्डवेयर, निर्माण, सुनचाँदीलगायतका पसलहरूको कारोबार अवस्था अहिले अत्यन्तै दयनीय बनेको छ । विराटनगरका पसलेहरूको दैनिकी अहिले ग्राहक कुर्दाकुर्दै बित्ने गरेकोजस्तो देखिन थालेको छ । विस्तारै चिसो बढ्न थालेसँगै व्यापार बढ्ने अनुमानका साथ व्यापारीहरूले सामान्य दिनको तुलनामा बढी सामान स्टक गरे पनि उनीहरूको अपेक्षाअनुसार कारोबार हुन सकेको छैन । बजारमा ग्राहक नै नहुँदा उनीहरूको चिन्ता समेत थपिन थालेको छ ।
विराटनगरमा लामो समयदेखि ब्यवसाय गर्दै आएका एक व्यवसायीका अनुसार गत वर्षदेखि नै बजारको अवस्था खराब छ । तर एकै पटक व्यापार यसरी पूरै चौपट नै हुन्छ भन्ने आफूहरूले कल्पना पनि नगरेको उनले बताए । ‘अहिले ग्राहक कुरेरै दिन बित्छ । आएको ग्राहकले पनि अपेक्षाअनुसारको सामान खरिद नगर्दा अब घर भाडा तिर्न समेत सकस हुन थालेपछि व्यापारबाट नै पलायन हुुने की भन्ने सोच आउन थालेको छ’, उनले गुनासो गरे । अर्कोतर्फ विराटनगरको हकमा अधिकांश ग्राहक सस्तोमा पाइने भन्ने लोभमा भारतीय सीमावर्ती बजार जोगबनीतर्फ जाँदा पनि समस्या थपिएको स्थानीय व्यापारीहरू स्वीकार गर्छन् । ग्राहकहरू सामान खरिद गर्न भारतीय बजार जोगबनी जाँदा पनि नेपाली बजारमा व्यापार ठीकठीकै चल्दै आएकोमा पछिल्लो समय आर्थिक मन्दीकै कारण व्यापार घटेको उनीहरूको दाबी छ ।