काठमाडौं । छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार नवलपरासी पश्चिम र तनहुँमा गरी दुर्घटनाबाट तीन जनाको मृत्यु भएको हो ।
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका–१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एक/आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, नवलपरासी पश्चिमस्थित रामग्राम नगरपालिका–११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङकरमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँस्थित म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित सडकमा बा.प्र ०१–००६ ख २८६१ नम्बरको ट्रकले ग.१७ प ६५९७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार भिमाद नगरपालिका–९ ठामडाँडा बस्ने २६ वर्षीया सुक माया बिकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।