काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् । आइतबार यहाँ आयोजित कार्यक्रमा उनले यातायात, सडक तथा धार्मिकस्थल निर्माण गर्दा अपाङ्गमैत्री बनाउन मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अपाङ्गता भएका वर्गले आत्मनिर्भर र सम्मानीत जीवन बाँच्न पाउने पहिलो अधिकार हुनुपर्नेमा मन्त्री ज्वालाले जोड दिए । उनले संविधानमा मात्र अधिकारका कुरा उल्लेख गरेर नपुग्ने बताए । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि तीनै तहका सरकार सकारात्मक हुनुपर्ने राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिक तथा पर्यावरणीय न्यायको आयाम समेटिएको राष्ट्रिय अपाङ्गता नीति छिट्टै पारित गर्न मन्त्रालयले पहल गरिरहेको बताए । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।
कार्यक्रममा अपाङ्गता भएका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पार्वती पौडेल, सन्तोष पौडेल, भावुकजङ्ग थापा, शर्मिला विश्वकर्मा, टीकाराम घिमिरे, प्रतिमा शर्मा, गोमा अधिकारी, टेकनाथ न्यौपाने, निर्मला देवकोटा र ईश्वर रैलालाई पुरस्कार दिइएको थियो ।