रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा नेपाल प्रहरीले भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले उनीहरूको साथबाट रु. तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जानकारी दिए । रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा चीनबाट आयात गरेका ती सामग्री विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा प्रहरीले बरामद गरेको उनले बताए । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु. एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो ।