झापा । नेपाल–भारत सीमानामा रहेका झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको तीन सय १७ वटा सीमा स्तम्भ मर्मत सोमबारदेखि सुरु भएको छ । मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१र१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी)बाट सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले सोमबार एक समारोहबीच मर्मत शुभारम्भ गरेको हो ।
भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गरे ।
बाहिनीपति पोखरेलले कोशी प्रदेशभर भारतसँगको चार सय ३० किलोमिटर लामो खुला सीमानामा कूल नौ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको जानकारी दिए । पोखरेलले कोशी प्रदेशमा पहिलोपल्ट नेपाल-भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताए ।
नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अङ्कका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अङ्कका सीमा स्तम्भहरुको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।
सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देबराज अर्यालले झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अङ्क भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने बताए ।
नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न आजैदेखि प्राविधिक टोली परिचालन गरिएको उनले बताए ।
सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं। बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।