काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् । रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा एक सय दरको एक सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।