काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि यसबारे सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार मंगलबार एनसेलले जवाफी पत्र पठाएको हो ।
आजियटाले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाईट युकेलाई बेच्ने गरि समझदारी गरेपछि दूरसञ्चार प्राधिकरणले मंसिर १५ गते एनसेललाई पत्र पठाएको थियो । उक्त पत्रको जवाफमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद–बिक्रीको लागि पनि सहमति लिने जवाफ दिएको खनाले बताए ।
एनसेलले पठाएको पत्रमा आजियाटा यूके र स्पेक्ट्रलाइट कम्पनीबीच सेयर खरिद–बिक्रीका लागि भएको द्वीपक्षीय सम्झौता समेतका कागजात तदारुकताका साथ सम्बन्धित पक्षबाट संकलन गर्ने क्रममै रहेको उल्लेख छ ।
एनसेलको पत्रमा भनिएको छ, ‘नियमावली र विनियमावलीका प्रावधान पूर्ण पालना गर्न सदा झैं आजियाटा प्रतिबद्ध रहेको छ । दूरसञ्चार प्राधिकरण विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ तत्काल ती संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद–बिक्रीको स्वीकृतिका निवेदन पेश गरिनेछ ।
