जनकपुरधाम । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिइएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएको हो ।
आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो । गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो । उता, सोही दिन आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । र, तीन महिना अगाडिदेखि स्व.आरती साहको न्यायको लागि माइती पक्षले धर्ना दिदैँ आएको थियो ।
छोरीको आत्महत्या नभई हत्या भएको भन्दै छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भाई, मामालगायत परिवार भित्रका सदस्यले करिब तीन महिनादेखि काठमाडौंको माइतीघरमण्डलामा धर्ना दिंदै आएका थिए । जुन, धर्नाले आज आएर केही हदसम्म न्याय पाएको छ ।
आरतीको घटनापश्चात प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएका थिए ।दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको दाबी थियो ।
उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालत जनकपुरधामले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको हो । सुनुवाइपछि ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने उच्च अदालतको आदेश सदर गरेको छ भने श्रीमान् मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको छ ।