काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँबराबरको निक्षेप उपकरण बिक्री गर्ने भएको छ । बोलकबोलको माध्यमद्वारा आज अपराह्न २ बजेसम्म सात दिन अवधिको मौद्रिक उपकरण बिक्री गर्न लागेको हो ।
मंसिर २१ गते निष्काशन हुने यो निक्षेप संकलन उपकरण पुस ५ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन गरेको हो । खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।