काठमाडौँ, जेठ ६
शिखर इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महाशाखामा एक कार्यक्रमबीच शिखर इन्स्योरेन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुुन् ।
महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपङ्क्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रियरूपमा खटिएको ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस विषम परिस्थितिमा ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गर्न शिखर इन्स्योरेन्स प्रालिले गरेको सहयोग एवं सदभावप्रति विशेष धन्यवाद दिए ।
कार्यक्रममा प्रालिका प्रमुख कार्यकारी अधिकृत पाण्डेले महामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवं सहकार्य गरी अगाडि बढ्न प्रालि तत्पर रहेको उनले उल्लेख गरे ।
दैनिक सडकमा खटिँदा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा विभिन्न किसिमका चालकहरूसँग भेट हुने भएकोले उनीहरू बढी संक्रमणको जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि महाशाखाले निरन्तररूपमा मास्क, सेनिटाइजर, पीपीई, फेस सिल्ड, पञ्जालगायतका सामग्री वितरण गर्नुको साथै सामाजिक दूरी कायम गर्दै सुरक्षित रहन निरन्तर निर्देशन एव ब्रिफिङ समेत गरिरेको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायब उपरीक्षक, प्रहरी अधिकृतहरू तथा शिखर इन्स्योरेन्स प्रा.लि.का पदाधिकारीहरूको उपस्थिति रहेको थियो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उक्त इन्स्योरेन्स प्रालिबाट एन ९५ मास्क १५ सय थान, मेडिकल मास्क पाँच हजार थान, चश्मा १५ सय थान, फेस सिल्ड भाइजर १५ सय थान, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री महाशाखालाई प्राप्त भएको छ । उक्त सामग्री आइतबार सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएको छ ।