काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले ५९ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जासम्बन्धी पछिल्लो विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा बैंक तथा फाइनान्स कम्पनीहरुमा यो परिमाणमा निक्षेप रहेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्येमा वाणिज्य बैंकमा मात्र ५२ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा छ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ४९ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल कर्जारकम ४४ खर्ब सात अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको पाँच खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रमा निक्षेप र कर्जाको बीचमा अहिले झण्डै नौ खर्ब ९५ अर्ब रुपैयाँको फरक रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जाबीचको अनुपात अर्थात् सीडी रेसियो भने ८० दशमलव ६१ प्रतिशत छ । यो अवधिमा अहिले बैंकिङ क्षेत्र अझै पाँच खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छ । तर, अर्थतन्त्रमा आएको संकुचनकै कारण अहिले कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्थामा छैनन् । यसो भन्नुको अर्थ बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता छ ।
बैंकिङ प्रणालीमा भएको यही अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार आज शुक्रबार मध्याह्न १२ बजेसम्ममा अल्पकालीन अर्थात् १४ दिनको अवधि तोकेर बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा मौद्रिक उपकरण बिक्री गर्न लागिएको हो । निष्काशन मिति विसं २०८० मंसिर २२ गते तोकिएको निक्षेप संकलन उपकरणको साँवाब्याज भुक्तानी मिति २०८० पुस ६ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि यो मौद्रिक उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ । यसअघि अर्थात् यही मंसिर २१ गते पनि राष्ट्र बैंकले १४ दिनको अवधि तोकेर २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बिक्री गरेको थियो । उक्त उपकरणको परिपक्व हुने मिति २०८० पुस ५ गते तोकिएको छ ।