काठमाडौं । दिउँसोको समयमा घरघरमा चोरी गर्दै हिड्ने २० वर्षीय विक्रम नेपाली पक्राउ परेका छन् । काभ्रे घर भएका नेपालीलाई सुन, हिराका गरगहना, मोबाईल तथा नगदसहित प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनले गत कात्तिक २४ गते दिउँसोको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिकास्थित दिव्यश्वरी टाउन प्लानिङस्थित रहेको युवराज अधिकारीको घरमा कोहि नभएको मौका छोपी मूल ढोका फुटाएर चोरी गरेका थिए । उनले ढोका फुटाएर भित्र गई कोठामा रहेका सुन, हिराका विभिन्न गरगहना, मोबाईल तथा नगदसहित करिब ३७ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेका थिए ।
उक्त घटनाको अनुसन्धानका क्रममा पेप्सिकोला बस्ने नेपालीलाई प्रहरी टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । नेपालीसँग बरामद भएका सामाग्रीमा सुनको मंगलसुत्र दुई थान, सुनको चुरा तीन थान, हिराको चुरा एक थान, हिराको नेक्लेस एक थान, सुनको सिक्री दुई थान, हिराको टप एक जोर, सुनको मुन्द्रा एक जोर, हिराको लकेट एक थान, सुनको औठी एक थान, सुनको झुम्का एक जोरा, सुनको टप एक जोर, मोबाईल दुई थान, घडी दुई थान छन् ।