काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा.राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन्।
नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उक्त पुरस्कार प्रदान गरे र एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा.अधिकारीको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए ।
स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरणमैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्टलगायतका संस्थामार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिष्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुराएकाले डा.अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ ।
उनी गैर आवासीय नेपाली संघ (एनआरएनए)को सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष पनि हुन्। दाङ्ग देउखुरी मुसुरिया निवासी डा.अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्।
डा.अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झन्डै एक सय वटा अनुसन्धानमूलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ ।
उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (रोनाष्ट)को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुखको रुपमा पनि काम गरेका थिए । उनले एनआरएनएद्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
‘नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ । हामीले प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै एक थियौं । यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु’, डा.अधिकारीले भने ।
एनआरएनएले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्न जोड दिंदै आएको छ ।