पाल्पा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सहकारीलाई उत्पादनसँग जोडेर काम गर्नुपर्ने बताएका छन् । शनिबार पाल्पाको रामपुरमा रहेको रामपुर बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभाको उद्घाटनको क्रममा सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भन्ने विषयमा जोड दिनुपर्ने बताएका हुन् ।
सहकारीले धेरैलाई रोजगार दिएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले अब रोजगारसँगै उत्पादनमा जोडिन सुझाव दिए । ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भने मात्र आर्थिक समृद्धि हुने उनको भनाइ छ ।
सो अवसरमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा सहकारीका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले रामपुरको विकासका लागि यस सहकारीले सामाजिक क्षेत्रमा काम गरिरहेको बताउँदै पूर्वी पाल्पाको विकासका गतिविधिबारे जानकारी दिएका थिए । उनले रामपुर आर्यभन्ज्याङ सडक, रामपुर फाट सिँचाइ आयोजना, प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने, प्रदेशको चार वटा भौतिक नमूना सहरमध्ये रामपुर पनि छनोटमा परेकाले रामपुरलाई भौतिक सहरको नमूना सहर स्थापनाका लागि विस्तृत योजना बनाएर छिटो अगाडि बढाउन अनुरोध गरेका छन् ।
त्यस्तै, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले छरिएर रहेका पुँजीलाई सहकारीले सङ्कलित उपयोग गरेको बताउँदै सहकारीमार्फत आयआर्जनका क्षेत्रमा रामपुर नगरपालिका हातेमालो गरेर काम गरेको उल्लेख गरे ।
सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले छरिएर रहेको पुँजीलाई एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमूना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिए ।