काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा ठूला दलका शीर्ष नेताहरूको अघोषित एकता भएको आशंका गरिएको बेला प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने विरोध गर्दै एनसेल बिक्रीकाण्ड देशलाई कंगाल बनाएर केही मानिसको ढुकुटी भर्ने कार्य भन्दै जनताले सहन नसक्ने बताएका छन् ।
एमालेको झुलाघाट–जिवाभन्ज्याङ् कार्यक्रमअन्तर्गत नुवाकोटमा शनिबार राति भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘आज डिसेम्बेर ९ भएको छ । केही दिनमै २०२४ लाग्छ । त्यसको केही वर्षपछि अर्थात् सन् २०२७ मा त्यो कम्पनी सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । तर, अहिले त्यसको सेयर बिक्रीको नाटक गरिएको छ, त्यो पनि खर्बौँको सम्पत्ति अर्बमा ! देशलाई कंगाल बनाएर केही मानिसको ढुकुटी भर्ने काम भएको छ । त्यो काम बन्द गरिनुपर्छ । यस्ता कार्य जनताले सहन सक्तैनन् ।’
अध्यक्ष ओलीले पार्टी नै पश्चिमबाट पूर्वतर्फको अभियानमा लागेको भन्दै आफूले यस विषयमा अध्ययन गर्न नपाएको तर पार्टीका सांसदहरूले आवाज उठाइरहेको बताए । उनले सुनकाण्ड, एनसेल काण्डलगायतका भ्रष्टाचार र तस्करीका काण्ड स्वीकार्य नहुने प्रस्ट पारे । एनसेल बिक्रीको विषयमा शीर्ष नेताहरूको संलग्नता रहेको आवाज सांसदहरूले नै उठाइरहे पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका अन्य नेताहरू भने मौन छन् । प्रधानमन्त्री प्रचण्डले पनि दबाब आएपछि मात्र औपचारिकता पूरा गर्नका लागि छानबिन समिति गठन गरेका हुन् । तर, छानबिन समितिप्रति सांसदहरूले नै प्रश्न उठाइरहेका छन् ।
सरकारले कर्मचारी नै परिचालन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सुनको तस्करी गरिरहेको आरोप पनि अध्यक्ष ओलीले लगाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकारको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुनै नसक्ने जिकिर गरे । अध्यक्ष ओलीले सरकारले कयौँ क्विन्टल सुन तस्करी गरिसकेको भन्दै वर्तमान सरकारलाई भ्रष्ट र नैतिकता नभएको लुते कुररजस्तै भएको आरोप लगाए ।
यो सरकार फेरिएर केही सुधारका काम भए पनि त्यसले राम्रोसँग काम गर्न नसक्ने भन्दै एमालेको नीतिअनुसार सरकार चलाउन बहुमत दिन आग्रह गरे ।
अध्यक्ष ओलीले आफूले चीनबाट सहयोग र सस्तो ब्याजमा ऋण लिएर भए पनि विकास योजनाहरू सुरु गर्न लागेको बेला सत्ताच्यूत गरिएको भन्दै पोखरा र भैरहवा विमानस्थल तुरुन्त सञ्चालन गर्न माग गरे । आफूहरूले थालेका विकास निर्माणका योजनाहरू वर्तमान सरकारले कटौती गरेको भन्दै एमाले सरकार आएपछि त्यसले निरन्तरता पाउने बताए ।
कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले वर्तमान सरकारले कटौती गरेको लोकसञ्चार मार्गलगायतका वैकल्पिक सहायक राजमार्गहरू र अन्य रणनीतिक सडकहरू पुनः समावेश गरेर अगाडि बढाउन माग गर्दै अध्यक्ष ओलीलाई नुवाकोटका समावेश गर्नुपर्ने योजनाहरूको लिस्ट हस्तान्तरण गरेका थिए । राति पौने १० बजे मात्र कार्यक्रमस्थलमा अध्यक्ष ओलीको टोली आइपुगेका कारण हतारहतार कार्यक्रम सम्पन्न गरिएको थियो । आइतबार पनि नुवाकोटको छहरेलगायतका स्थानमा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।