काठमाडौं : एकैदिन नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजलाई शेयर कारोबार बन्द भएको छ। आइतबार बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेको थियो भने डेढ घण्टा नवित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ। आइतबार कुल ९ मिनेट मात्रै शेयर कारोबार भएको छ। नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। बुधबार सूचक लगातार बढेर ६ प्रतिशत पुगेपछि कारोबार बन्द भएको हो।