ढोरपाटन (बागलुङ) । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् ।
यहाँ आयोजित कार्यक्रममा उनले वर्षौंदेखि कमजोर नागरिकले अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरे । नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ थियो ।
अध्यक्ष केसीले एउटा नागरिक देशमै गास, बास र कपाससँगै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गरे । यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको बताउँदै उनले अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए ।
मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौंदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्ने बताए ।