काठमाडौँ । आइतबार आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ (स्काफ) को ३३औँ वार्षिकोत्सवको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताए ।
नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गरे । पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । उनले निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानूनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताए । आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । परामर्शदाता कम्पनीले भोगिरहेका समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको शर्माले बताए ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबीच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या उत्पन्न भएको बताए । उनले पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गरे । परामर्शदाता कम्पनीले अहिले गरिरहेका काममा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले सरकार र सम्बन्धित निकायले यसमा ध्यान पु¥याउनु पर्ने उनको भनाइ थियो ।