काठमाडौं । नेपाल राष्ट्र बैंकले मंंसिर २५ गते अर्थात् आज सोमबार १८ अर्ब ५० करोड रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न दुई बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि मंसिर १८ गते पनि राष्ट्र बैंकले १६ अर्ब चार करोड ५० लाख रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मंसिर २६ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरू क्रमशः ९१ दिन अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिन अवधिको आठ अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रूपैयाँबराबरको छ । यसमध्ये एक सय ८२ दिन अवधिको आठ अर्बमध्ये चार अर्बको ट्रेजरी बिल नयाँ भए पनि बाँकी भने सबै पुरानो नवीकरणअन्तर्गतको रहेको राष्ट्र बैंकको भनाइ छ । यी ट्रेजरी बिलहरू परिपक्व हुने अवधि क्रमशः २०८० फागुन २९ गते, २०८१ जेठ २९ गते र २०८१ मंसिर २५ गते तोकिएका छन् ।
गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिन अवधिको १० अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।