काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि एक विशेष छुटको अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेड र आगन्तुक रिसोर्टका बीचमा छुट अफरका लागि सम्झौता भएको छ । आइतबार भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले तथा आगन्तुक रिसोर्टको तर्फबाट मार्केटिङ डाइरेक्टर सुरज विष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहक महानुभावले आगन्तुक रिसोर्टबाट सेवा लिँदा सबै सेवाहरूमा १५ प्रतिशत छुट अफर पाउने भएका छन् । हितग्राही ग्राहकले सम्झौता अवधिदेखि आगामी एक वर्ष अर्थात् २३ मंसिर २०८१ सम्मका लागि रिसोर्टमा यो छुट अफर पाउने छन् । अफरबाट लाभ लिने रिसोर्टमा प्रभु क्यापिटलमा आफ्नो डिम्याट खाता रहेको आधिकारिक प्रमाण तथा आफनो आईडी कार्ड देखाउनुपर्नेछ जसको आधारमा रिसोर्टले ग्राहकलाई प्रिभिलेज कार्ड दिनेछ । धुलिखेल आउनुअघि बनेपा नगरपालिका, भ्युटावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौंबाट झण्डै ३२ किलोमिटरमा ७२ रोपनीमा फैलिएको छ । चार वर्षअघि मात्र स्थापना भएको यो रिसोर्ट बुटिक स्टाइल चार स्टार डिलक्स रिसोर्टका रूपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ । हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिइरहेको भ्याली नजिकैको बस्न, खान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्विमिङपुलसहितको सुविधासम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाइलो गन्तव्यस्थल बनेको छ ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो । जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने, पुँजीबजारसँग सम्बन्धित सचेतना तथा तालिम कार्यक्रम साथै आफ्ना ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिँदै आएको छ । प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकहरूका लागि प्रभावकारीरूपमा मर्चेन्ट बैकिङ सेवा दिनुका अतिरिक्त ग्राहकलाई थप सन्तुष्टि दिन क्यापिटलले समय–समयमा यस्ता व्यावसायिक सम्झौता गरी यस्ता छुट तथा अफर सुविधा दिन समेत कम्पनी सधैं अग्रसर रहेको छ ।