चितवन । सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार प्रत्रकारलाई ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताए ।
चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको मन्त्री बस्नेतले बताए । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढङ्गले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो । चिकित्सा क्षेत्रमा २२ वर्षअघिभन्दा कम दरबन्दीका भरमा काम भइरहेको उल्लेख गर्दै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।
यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने मन्त्री बस्नेतले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय शय्याभन्दा बढी भएका अस्पताललाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको जानकारी दिए ।