काठमाडौँ । प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । उनले झुठो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।
प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे । उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको उल्लेख गर्दै प्रधानमन्त्रीका रुपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको बताए ।
संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजित जलवायु सम्मेलनका क्रममा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा आफूले थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।