काठमाडौं । सूचीकृत कम्पनीहरुले सेयरको ‘लकइन’ अवधि सकिनुभन्दा ३० दिनअघि लगानीकर्तालाई जानकारी गराउनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार एक निर्देशन जारी गर्दै ‘लकइन’ सेयरको बारेमा लगानीकर्ता र सरोकारवालालाई सूचना जारी गरेर जानकारी गराउन भनेको हो ।
वास्तविक क्षेत्र र हाइड्रोपावर कम्पनीले सार्वसाधारणलाई सेयर जारी गरेको निश्चित समयपछि मात्रै संस्थापक लगानीकर्ताको सेयरको ‘लकइन’ अवधि सकिएर साधारणसरह कारोबार गर्न सकिने व्यवस्था छ । साथै उद्योग तथा आयोजना प्रभावित क्षेत्रका स्थानीयलगायतलाई जारी गरेको सेयर पनि निश्चित समयसम्म ‘लकइन’ हुने व्यवस्था छ ।
सार्वजनिकरुपमा जारी भएको यस्तो सूचना धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङलाई पनि उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ । सो सूचना नेपाल स्टक एक्सचेन्ज र सीडीएससीले पनि लक इन अवधि सकिएको एक सातासम्म आफ्नो बेवसाइटमा राख्नुपर्नेछ ।
१० कित्ते नीति पुनरावलोन गर्न समिति
धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन गर्न समिति गठन गरेको छ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार प्र्रविणकुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगानासहितको समिति बनाइएको छ । सो समितिमा बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी सदस्य छन् ।
अहिले आईपीओ वितरण गर्दा माग भएभन्दा बढी आवेदन परेमा दामासाहीमा १० कित्ताका दरले वितरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाले जस्तोसुकै कम्पनीको सेयर पनि बिक्री हुने गरेको देखिन्छ । बोर्डले यसअघि सेयरबजारलाई गाउँ–गाउँसम्म पु¥याउने भन्दै १० कित्ताका दरले वितरण गर्ने नीति ल्याएको थियो ।