काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारी अध्यक्ष रहेको प्रमिश ल्यान्डले नवलपरासीको रामग्राममा बनाउन लागिएको नयाँ बस्तीको उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्ने भएका छन् ।
जनयुद्धमा माओवादीको नाममा पैसा उठाएर किराना पसल चलाउने र प्रचण्डको कालोधन लुकाउने मुख्य पात्र भनेर चिनिने नुवाकोटका शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीले करिब चार सय घरपरिवार बसोबास गर्दै आएको जग्गा अधिग्रहण गरी बुद्धको नाममा विदेशीहरूसँग अर्बौँ पैसा उठाएर राज्यले गर्नुपर्ने काम आफैँ गर्छु भनी भ्रम फैलाउँदै हिडेका छन् । उनले विश्वसम्पदा सूचीमा समावेश गराउने बस्ती भन्दै गर्न लागेको अर्बौँ घोटलाको उद्घाटन गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ९ बजे प्रधानमन्त्री प्रचण्ड जान लागेका हुन् ।
अधिकारीले प्रमिश ल्यान्डमार्फत कालोधन, हतियारसहित प्रकाउ परेका र विभिन्न देशको पासपोर्ट बोकी हिँड्ने विवादास्पद छविका लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्लाल लामालाई समेत प्रभावमा पारेर सो परियोजना सुरु गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको घरबेटी भएको भन्दै अर्बौँ रुपैयाँका सडक तथा विकास निर्माणका काम ठेक्का हात पारेर अलपत्र पार्दै आएका अधिकारीले भाडावाल प्रधानमन्त्री प्रचण्डको दुरुपयोगमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको सहयोग लिएको बताइएको छ ।
सम्बन्धको दुरुपयोग गर्दै अर्बौँ रुपैयाँ लगानीमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ उदैनीमा दर्जनभन्दा बढी घरपरिवारलाई उठाएर गौतमबुद्धसँग जोडेर ऐतिहासिक कोलोनी बनाउने अभियानको सुरुवात गर्न लागिएको हो । बाहिरबाट हेर्दा आकर्षक नारा दिइएको सो परियोजनाभित्र जग्गा माफिया, स्थानीयवासीको उठिबास लगाउने र निजी कम्पनीले अर्बौँ रुपैयाँ खर्च गर्नेलगायतका दर्जनौँं विवादित विषय रहेका छन् । अधिकारीले करिब २५ अर्ब रुपैयाँ सिंगापुरबाट वैदेशिक लगानी भित्र्याउने हल्ला गरेको सो परियोजनामा अर्बौँ घोटला हुने आशंका गरिएको छ ।
अभियानमा माओवादीले नै नियुक्त गरेका विवादास्पद व्यापारी तथा लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको प्रत्यक्ष संलग्नता रहेको छ । उनले लुम्बिनी विकास कोषको सरकारी लेटरप्याडमा निजी कम्पनीका अध्यक्ष अधिकारीको समेत हस्ताक्षर गर्न दिएर विभिन्न सरकारी तथा गैरसरकारी व्यक्तिलाई निमन्त्रणा गर्न दिएका छन् भने सो पत्रमा आफँैले समेत हस्ताक्षर गरेका छन् ।
बृहत् योजना भनिएको सो परियोजनामा अधिकारी अध्यक्ष रहेको प्रमिश ल्यान्डले पश्चिम नवलपरासीस्थित उदैनीमा एक सय बिघाभन्दा बढी क्षेत्रफल जग्गा अधिग्रहण गरिने सो नगरपालिकाका एक कर्मचारीले पुष्टि गरेका छन् । एक सय बिघा अधिग्रहण गर्दा करिब चार सय घरलाई उठाइनेछ ।
अर्बौँ अनुदानमा हुनलागेको घोटालाको केन्द्रविन्दुमा प्रधानमन्त्री प्रचण्ड आफैँ पनि संलग्न रहेको देखिएको छ । आजै वा छिटै नेपाल सरकारले प्रमिश ल्यान्डसँग एमओयू सम्झौता गरी उक्त जमिन निजी कम्पनीलाई अधिग्रहण गर्न अनुमति दिइनेछ । त्यसको लागि पर्यटन मन्त्री सुदन किराँतीले समेत सहमति जनाइसकेका छन् । एक सय बिघा जग्गामा साउदी अरेबियाको मक्का मदिना भनेझैँ रामग्राम बनाउन लागिएको भ्रम रामग्राम नगरपालिकामा फैलाएर जनतालाई ‘कन्भिन्स’ गर्न खोजिएको स्थानीयको आरोप छ ।
प्रमिश ल्यान्डको नाममा एक निजी बैंकमा डलर खाता खोलेर करोडौँ रुपैयाँ संकलन गरिएको छ । विदेशीहरूबाट लाखौँ डलर खातामा जम्मा भइसकेको र सोही रकमबाट आज काठमाडौंबाट चार सयभन्दा बढी भीआईपी पाहुना बोलाएर उद्घाटन गर्न लागिएको हो ।
सो क्षेत्रमा भू–माफिया आएर सर्वसाधारणको उठिबास लगाउन लागेको भन्दै स्थानीय युवाहरू तथा नागरिक समाजका अगुवाहरूले यस आयोजनाको विरोध गरिरहेका छन् । आज प्रधानमन्त्रीबाट हुने उद्घाटन कार्यक्रममै पनि स्थानीयबासीले विरोध गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
आजको उद्घाटन कार्यक्रमका लागि नेता र ठूला भीआईपीहरूका अतिथि सत्कारमा निकेश अधिकारी आफैँ खटिएका छन् भने लामाहरू ल्याएर भव्य कार्यक्रम गर्ने भन्दै कोषका उपाध्यक्ष ल्हारक्लाल लामा समेत खटिएका छन् । लामाले आजको उद्घाटन कार्यक्रम भव्य बनाउन काठमाडौंबाट करिब चार सय जना पाहुनालाई जहाज चार्टर्ड गरेर ल्याइएको छ । सोमध्ये केही पत्रकारहरू समेत छन् ।
माओवादीको इच्छामा हुनलागेको सो कार्यक्रमका लागि पर्यटन मन्त्री सुदन किराती समेत निमन्त्रणा बोकेर हिँडेका थिए ।
जनयुद्धकै समयदेखि माओवादीको पैसामा प्रगति गरेको र अहिले पनि माओवादीकै पैसामा व्यवसाय गरिरहेको आरोप लागेका शारदाप्रसाद अधिकारीप्रति प्रधानमन्त्री प्रचण्डले अर्बौँ रुपैयाँको घोटाला काण्डको साक्षी बनेर पूर्वप्रधानमन्त्री केपी ओलीको यति मोहझैँ शारदा मोह भएको त होइन ? पेरिसडाँडातिर चिन्ता छाएको छ ।