काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार सञ्चालनसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र प्राप्त गरी विदेशी विनिमयको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थालाई इजाजतपत्र प्रदान गर्ने एवं निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली संशोधन गरेको हो ।
संशोधित विनियमावलीअनुसार विदेशी विनिमयको कारोबार गर्न निवेदन दिने फर्म, कम्पनी, संस्थाको सञ्चालक÷पदाधिकारी १८ वर्ष उमेर पूरा भएको, मानसिक सन्तुलन ठीक भएको, ऋण तिर्न नसकी साहुको दामासाहीमा नपरेको व्यक्ति भएको हुनुपर्नेछ । यसैगरी बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको, प्रचलित कानुनबमोजिम कर चुक्ता गरेको, नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, भ्रष्टाचार वा ठगीको कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने संशोधित व्यवस्थामा उल्लेख छ ।
कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवाको पदमा बहाल नरहेको, बैंक तथा वित्तीय संस्थाको काम–कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित नभएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरमा सजाय नपाएको, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको भए पाँच वर्ष व्यतीत भइसकेको (प्रमाण पेस गर्नुपर्ने) व्यक्तिले मात्र विदेशी मुद्राको कारोबार गर्न कम्पनीमा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।
संशोधित विनियमावलीअनुसार विदेशी विनिमयको कारोबार गर्ने बैंक वा वित्तीय संस्था, फर्म, कम्पनी वा संस्था र क्यासिनोले यस विनियमावलीबमोजिम इजाजतपत्र लिनुपर्नेछ । विदेशी विनिमयको कारोबार गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको लागि विदेशी विनिमय कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टरहरूको नाम, ठेगानासहित विभागमा निवेदन दिनुपर्नेछ ।
राष्ट्रियस्तरबाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागमा त्यस्तो निवेदन पेस गर्नुपर्नेछ । विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गर्न विदेशी मुद्राको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले देहायबमोजिमको शुल्क राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । यसअन्तर्गत बैंकले एकमुस्ट पाँच लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकले एकमुस्ट एक लाख रुपैयाँ र प्रादेशिकस्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले एकमुस्ट २० हजार रुपैयाँ बुझाउनुपर्नेछ । यसरी सबै प्रक्रिया पूरा गरी आएको निवेदनउपर छानबिन गरी उपयुक्त देखिएमा बैंक तथा वित्तीय संस्थालाई विदेशी विनिमय कारोबारको लागि विभागले सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र प्रदान गर्नै संशोधित व्यवस्थामा उल्लेख छ । यसप्रकारको इजाजतपत्र प्रदान गर्दा भौतिक पूर्वाधारको स्थलगत निरीक्षण आवश्यक नपर्ने र राष्ट्रियस्तरबाहेकका वित्तीय संस्थालाई आफ्नो केन्द्रीय कार्यालय रहेको स्थानको नजिकमा रहेको राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा विभागबाट त्यस्तो इजाजतपत्र प्रदान गरिने संसोधित व्यवस्थामा उल्लेख छ ।
विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको लागि नियमबमोजिमको शुल्क लिई बैंक तथा वित्तीय संस्था एवं तिनका शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरहरूलाई विदेशी विनिमय खरिदबिक्री कारोबार तथा तोकिएबमोजिमको विदेशी विनिमयसम्बन्धी अन्य कार्य गर्नेगरी इजाजतपत्र प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले एकमुस्टरुपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् । बैंकका सम्पूर्ण शाखाहरूले कम्तीमा पनि विदेशी मुद्रा खरिदको कारोबार गर्नुपर्नेछ भने वित्तीय संस्थाले विदेशी विनिमयको कारोबार गर्ने शाखा तथा एक्सटेन्सन काउन्टर तोकी त्यस्ता शाखा तथा एक्सटेन्सन काउन्टरबाट विदेशी विनिमयको कारोबार गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार डिपार्टमेन्टल स्टोर÷सुपरमार्केट, एयरलाइन्स र तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानको लागि एक लाख रुपैयाँ र अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रतिकारोबार स्थानको लागि ५० हजार रुपैयाँबराबरको इजाजतपत्र बहाल रहने मितिभन्दा कम्तीमा १५ महिना बढी अवधिको बैंक जमानत पेस गर्नुपर्नेछ । डिपार्टमेन्टल स्टोर÷सुपर मार्केट, एयरलाइन्स र तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न प्रत्येक कारोबार स्थानका लागि प्रतिवर्ष चार हजार रूपैयाँका दरले तथा अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवं सरकारी निकायले प्रत्येक स्थानका लागि प्रतिवर्ष दुई हजार रूपैयाँका दरले इजाजतपत्रको शुल्क एकमुस्टरुपमा राष्ट्र बैंकमा बुझाउनुपर्नेछ ।
डिपार्टमेन्टल स्टोर÷सुपरमार्केट, एयरलाइन्स र तीनतारे तथा सोभन्दा माथिल्लो स्तरका होटलले विदेशी मुद्राको कारोबार गर्ने इजाजतपत्रको म्याद समाप्त हुनुअगावै प्रत्येक स्थानका लागि प्रतिवर्ष चार हजार रूपैयाँका दरले तथा अन्य जुनसुकै होटल, रिसोर्ट, फर्म, कम्पनी वा संस्था एवं सरकारी निकायले प्रत्येक स्थानका लागि प्रतिवर्ष दुई हजार रूपैयाँका दरले एकमुस्ट शुल्क राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । कुनै कारणश इजाजतपत्रप्राप्त संस्थाले म्याद समाप्त हुनुअगावै नवीकरणको लागि निवेदन पेस गर्न नसकेको कुरामा राष्ट्र बैंक विश्वस्त भएमा म्याद समाप्त भएको मितिले ९० दिनभित्र समेत सोहीबमोजिमको शुल्क लिई राष्ट्र बैंकले इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।