काठमाडौं, जेठ ७
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले समस्यामा परेका बूढानीलकण्ठ नगरपालिकाका ४२ परिवारलाई राहत वितरण गरिएको छ । ज्यालादारी, मजदुरी, अपांग र असहायलगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेको छ । काठमाडाँैको बूढानीलकण्ठ नगरपालिका वडा नं. १ र २ का अतिविपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई साहित्यकार दिलिप योन्जनको आर्थिक सहयोगमा साहित्यकार बिना थिङ र डोल्मा तामाङले राहत वितरण गरेका हुन् । विश्वभर कोभिड– १९ को महामारीले विश्व आतंकित बनेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैनन् । यस्तो परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेवी दिलिप योन्जनले पहिलोपटक ६६ हजार ३ रुपैयाँ र दोस्रो पटक २६ हजार ७ सय ५७ रुपैयाँ गरी ९२ हजार ७ सय ६० रुपैयाँबराबरको राहतस्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन् । लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउँदै साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपाजस्तो बिलाउँदै गएको छ । त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु ।’
अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफ्नो मातृभूमिप्रतिको अगाध माया र स्नेहको कारण अरुको दुःखमा मल्हम लगाउने कार्य गरेको उनले बताए । उनले यसअघि ०७२ को भूकम्पमा पनि राहत प्रदान गरेका थिए । उनले असहाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनि बस्नु नपरोस् भनेर विगत वर्षदेखि पूर्ण छात्रवृत्ति दिँदै आएका छन् ।