काठमाडौं । मुद्दा मिलाई थुनामुक्त गरिदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले सोमबार दुई जनालाई ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–१ रानीबन बस्नेहरु भोजपुरका २६ वर्षीय रितु राई र बर्दियाका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।
प्रहरीका अनुसार आपराधिक विश्वासघात र संगठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भन्दै खड्काका परिवारबाट पटक/पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ । उनीहरू उपर आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।