काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज(बुधबार) भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गरेका थिए ।
साथै, उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको थियो । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताएका थिए ।