काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै आएको धुलिखेल अस्पतालले मंसिर २५ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई संस्थाबीचको सम्बन्ध सुधार गरिदिन भन्दै पत्राचार गरेको छ । अस्पतालले गत कात्तिक १० गते बागमती प्रदेश सामाजिक विकास मन्त्रालयमा ‘धुलिखेल मेडिकल विश्वविद्यालय’को आशयपत्र लिन आवेदन दिएपछि यी दुई संस्थाबीचको सम्बन्धमा दरार आएको थियो । आफैँले सिर्जना गरेको विवाद मिलाइदिन भन्दै अहिले अस्पतालले प्रधानमन्त्रीलाई पत्राचार गरेर हारगुहार गरेको हो ।
काठमाडौं विश्वविद्यालयसँग ५० वर्ष सहकार्य गर्न सम्झौता गरेको अस्पतालले सहकार्य तोड्ने मनसायसहित छुट्टै मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको थियो । तर, ‘प्रदेश उच्च शिक्षा नियमावली, २०७९’मा भएको व्यवस्थाबमोजिम धुलिखेल अस्पतालले मेडिकल विश्वविद्यालय सञ्चालन गर्न पाउने सम्भावना निकै कम देखिन्छ । किनभने धुलिखेल अस्पतालसँग जम्मा ४५ शय्या क्षमता छ र यो अस्पताल कुनै विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षण अस्पताल पनि होइन ।
नियमावलीअनुसार प्रदेश सरकारको अनुदान वा लगानीमा सञ्चालन भएका र मापदण्ड पूरा गरेका उच्च शिक्षण संस्था, संघीय विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरेका, सामुदायिक वा मुनाफा वितरण नगर्ने उच्च शिक्षण संस्थाले मात्र विश्वविद्यालयको सम्बन्धनका लागि आवेदन दिन पाउनेछन् । तर, धुलिखेल अस्पताल न कुनै शिक्षण संस्था हो, न संघीय विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र नै पाएको छ । अहिलेसम्म काठमाडौं विश्वविद्यालयको ‘स्कुल अफ मेडिकल साइन्सेज’को तालिमकेन्द्रको रूपमा सहकार्य गर्दै आएको मात्रै देखिन्छ ।
काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत रहेका अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजुले आफ्नो स्वार्थअनुरूप काम गर्न नपाएपछि दुई संस्थाबीचको सहकार्य टुंगिने गरी कदम चालिरहेका छन् । काठमाडौं विश्वविद्यालमा दुई कार्यकाल उपकुलपति भएर काम गरेका माकाजु तेस्रो पटक उपकुलपति बन्ने दौडमा असफल भएपछि दुई संस्था अलग्याउन भूमिका खेलिरहेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार डा. भोला थापा उपकुलपति बनेका थिए । त्यसपछि थापा र माकाजुको दूरी बढ्दै गएको हो ।
काठमाडौं विश्वविद्यलयको उपलकुपतिबाट हटेपछि माकाजुले धुलिखेल अस्पतालमा आफ्ना लागि कार्यकारी निर्देशक पद खडा गरी काम गर्दै आएका छन् । धुलिखेल अस्पताल निर्माणका लागि माकाजुको महत्वपूर्ण भूमिका छ । तिनै माकाजुले काठमाडौं विश्वविद्यालयका तत्कालीन उपकुलपति डा. सुरेशराज शर्मासँग सहकार्य गर्ने सम्झौता गरेका थिए । त्यही सम्झौताको आधारमा काठमाडौं विश्वविद्यालयले धुलिखेल अस्पतालमा ‘स्कुल अफ मेडिकल साइन्सेज’ सञ्चालन गर्दै आएको छ । सो स्कुलको बैंक खाता काठमाडौं विश्वविद्यालय र अस्पतालको मातहतमा सञ्चालन हुँदै आएको थियो । तर, त्यसमा आर्थिक अनियमितता भएको आशंकासहित विश्वविद्यालयले नियमन गरेको छ ।
२०६७ कात्तिक १७ गते भएको सम्झौताबमोजिम स्वास्थ्य विज्ञान कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालय र अस्पतालको प्रतिनिधित्व हुनेगरी ‘स्वास्थ्य विज्ञान कार्यकारी परिषद्’ गठन गरिएको छ । त्यसको अध्यक्षता विश्वविद्यालयका उपकुलपतिले गर्ने व्यवस्था छ भने अस्पतालका निर्देशक एसोसियट डिन रहने व्यवस्था छ । सदस्यहरूमा विश्वविद्यालयका रजिष्ट्रार, स्कुल अफ मेडिकल साइन्सेजका डिन, अस्पतालका निर्देशक रहनेछन् भने सचिवमा प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ । यही व्यवस्थाले मात्रै ‘स्कुल अफ मेडिकल साइन्सेज’ पूर्णरूपमा धुलिखेल अस्पताल मातहत हो भन्ने देखाउँदैन ।
अस्पतालले विश्वविद्यालयको सम्बन्धन पाउने सम्भावना न्यून
बागमती प्रदेशको ‘प्रदेश उच्च शिक्षा नियमावली, २०७९’ को परिच्छेद–४ विश्वविद्यालयको स्थापना तथा स्वीकृतिसम्बन्धी व्यवस्थाको बुँदा नम्बर १२ (३) बमोजिम तोकिएका मापदण्ड पूरा गर्नुपर्छ । जहाँ प्रदेश सरकारको अनुदान वा लगानीमा सञ्चालन भएका र मापदण्ड पूरा गरेका उच्च शिक्षण संस्था, संघीय विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र प्राप्त गरेका, सामुदायिक वा मुनाफा वितरण नगर्ने उच्च शिक्षण संस्थाले मात्र विश्वविद्यालयको सम्बन्धनका लागि आवेदन दिन पाउने व्यवस्था छ । धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयबीचको सहकार्यमा सञ्चालित ‘स्कुल अफ मेडिकल साइन्सेज’ धुलिखेल अस्पतालको नभएर काठमाडौं विश्वविद्यालयको हो । त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू धुलिखेल अस्पतालमा अभ्यास गर्दै आएका छन् ।
४५ बेड क्षमताको धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयलाई नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगले ‘रिकनाइज’ गरेको आधारमा चार सय ५० बढी बेडबाट स्वास्थ्य सेवा दिँदै आएको छ । काठमाडौं विश्वविद्यालयसँग छुट्टिएको अवस्थामा धुलिखेल अस्पतालले फेरि ४५ बेड क्षमताअनुरूपको मात्रै सेवा दिन पाउनेछ ।
कुनै पनि विश्वविद्यालयको शिक्षण अस्पताल न्यूनतम तीन सय बेडको हुनुपर्छ भन्ने व्यवस्था भएअनुरूप धुलिखेल अस्पताल सञ्चालनमा छ । यसरी साढे चार सय बेड क्षमतामा अस्पताल सञ्चालन गर्न विश्वविद्यालयलाई प्राप्त हुने नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगको रकमबाट अस्पतालको जग्गामा भवन बनाउने काम भएको छ । धुलिखेल अस्पताल छुट्टिन चाहेको अवस्थामा ती संरचनामा दाबी गर्ने विश्वविद्यालय स्रोेतले बताएको छ ।
विश्वविद्यालयलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
धुलिखेल अस्पतालले प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेपछि सहकार्य जोगाउन पहल गर्ने विश्वास गरेको थियो । तर, बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आफ्नै अस्पताल निर्माण गर्न लागेकोमा खुशी लागेको बताए । ‘काठमाडौं विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुशी लागेको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा विश्वस्त रहेको र आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय भएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले यो कार्यमा सहयोग गर्न सरकारका प्रतिनिधिहरूलाई निर्देशन समेत दिए । उनले भविष्यमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रमहरू लागू गर्न अनुरोध पनि गरेका छन् ।