काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदयि मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेशका विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् ।
उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित गरेर शिक्षा र रोजगारका लागि नेपाली विद्यार्थी मुलुक बाहिर जाने अवस्थाको अन्त्य गराउन आवश्यक भएकामा जोड दिएको हो । गुणस्तरीय शिक्षामा निजी क्षेत्रको भूमिकालाई अन्देखा गर्न नहुने उल्लेख गर्दै मन्त्री गुरुङले लामो छलफल र सकसपूर्ण अवस्थाबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई संसदीय समितिसमक्ष लगिएकाले यसलाई सरोकार भएका पक्षसँगको संवाद र छलफलका आधारमा पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँए ।
कक्षाकोठाको गुणस्तर सुधार, शिक्षा क्षेत्रमा नेतृत्व विकास र नीतिगत परिवर्तनका मुद्दामा सबै पक्षबीच छलफल गर्न सम्मेलनको आयोजना गरिएको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए । कक्षाकोठाको सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने मान्यताका साथ १७ वटा सत्रहरूमा सहभागीबीच छलफल हुने सम्मेलनका संयोजक मेदिनी लामिछानेले जानकारी दिए ।
सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सजीकरण तथा काठमाडौँ विश्वविद्यालय र बिट्रिश काउन्सिलको सहयोग रहेको छ । सम्मेलनको मुख्य विषय नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धि रहेको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । सम्मेलनमा निजी र सामुदायिक विद्यालयका सञ्चालक, प्राचार्य, पिन्सिपल र शिक्षक गरी करिब चार सयको सहभागिता रहेको छ ।