काठमाडौं, जेठ ८
लकडाउन भएको ५४ दिन (गत शनिबार)सम्म नेपालमा महिला तथा बालिकामाथि भएका हिंसाका घटनामा पाँच सय दुई जना पीडित भएका अभिलेख गरिएको इन्सेकले जनाएको छ । इन्सेकले लकडाउनको सुरू दिन ०७६ चैत ११ गतेदेखि ०७७ जेठ ३ गतेसम्मको अवधिमा अभिलेख गरिएको तथ्याङ्कलाई बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।
लकडाउनकोे यो अवधिमा परिवारजनबाट २३ जना महिलाको हत्या भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । त्यसैगरी घरेलु हिंसाका घटनामा दुई सय ३९ जना पीडित भएका इन्सेकले जनाएको छ । यो अवधिमा बलात्कारका घटनामा ६४ जना महिलासहित एक सय ६९ जना, बलात्कार प्रयासका घटनामा २० जना महिला, यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिकासहित ५१ जना पीडित भएका घटना इन्सेकको अभिलेखमा उल्लेख छ ।
‘यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा एक सय ५४ जना र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २२ जना महिला तथा बालिका पीडित भए ।’ प्रतिवेदनमा भनिएको छ– ‘लकडाउनका कारण कतिपय घटना सार्वजनिक नभएको वा प्रहरीसम्म नपुगेको पनि हुन सक्छ ।’