काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण सात महिनापछि धरौटी बुझाएर रिहा भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाण आज(शुक्रबार) जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका खाण बिहीबार उच्च अदालत पाटनको आदेशपछि रिहा भएका हुन् । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो । उच्चले धरौटी माग गरेपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार पेस गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्य गरेको अभियोगमा अनुसन्धानका लागि खाण बैशाख २७ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । उनीसँगै थुनामा रहेकामध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित नौ जना भने पूर्पक्षका लागि थुनामै छन् ।