काठमाडौं । ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका सर्लाही साबिक जानकीनगर गाविस–७ का कोमल राज उपाध्याय पक्राउ परेका छन् । एनसिबि अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो ।
उपाध्यायविरुद्ध ५१ जना पीडितले जाहेरी दर्ता गराएका थिए । उपाध्याय समेत संचालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्ट्यान्सिज खालिद बिन अल वालीड रोड, अलराफ दुबई’ले यूएईस्थित दुबईमा आम्र्स गार्ड, डिपिएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएर पीडित बनाएर ठगी कार्य गरेको थियो । रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दिएका थिए ।
प्रतिवादीहरू विरूद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्बन्धि कसूरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ बैशाख २७ गते रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।