काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ चारवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५, बुढानीलकण्ठ, काठमाडौंकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आँबुखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरूबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५५ वटा शाखा, तीन सय ७६ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४६ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।