काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरी बेबी वार्मर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।
नवजात शिशु र विशेषगरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीररूपमा बिरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेसिनहरू बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो । स्वास्थ्य चौकी जर्बुटामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका वडाध्यक्ष दिपेन्द्रराज कोइरालालाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरेका हुन् । खड्गभञ्ज्याङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट स्वास्थ्य चौकीका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियरमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेसिनबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्षरूपमा लाभान्वित हुने बैंकको विश्वास छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुत्र्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ ।
बैंकले हाल सबै क्षेत्रमा गरी एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।