काठमाडौं । कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिस प्रालिबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच ‘फाइभ इन वन’ सेवासम्बन्धी सम्झौता भएको हो ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालोसँग सम्झौता गरी ‘फाइभ इन वन सेवा’ सार्वजनिक गरेको हो । सम्झौतापश्चात् बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्वा र मेरो सेयरलगायतका सुविधा हातेमालोबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई सरलरूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरू उपलब्ध गराइएको बैंकले जनाएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा एक सय ३५ वटा सञ्जाल, २१ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत् सेवाहरू प्रदान गर्दै आएको छ ।