काठमाडौँ । एक हजार पाँच सय भन्दा बढी भ्रमण भिसामा विदेश जान लागेका युवाका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ ।
सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् ।
सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली देखिएको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
नक्कली कागजातका आधारमा के–कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा सबै मिलेमतोमा काम हुने गरेकोसमेत पाइएको छ । शर्माले अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीले एयरलाइन्सलाई प्रतिव्यक्ति रु. १० हजारदेखि १५ हजार र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति रु ४० हजारदेखि ५५ हजार दिएर मिलेमतोमा मिलाइ पठाउने देखिएको पाइएको बताए ।
३५ जनाभन्दा बढी मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित विभिन्न मितिमा पक्राउ गरी सङ्गठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिएको छ ।