काठमाडौं । सूर्यज्योति लाइफ (साबिक सूर्या लाइफ र ज्योति लाइफ) इन्स्योरेन्स कम्पनी लिमिटेडले कर छलेको भन्दै उजुरी परेको छ । काठमाडौंको ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको उक्त कम्पनीले कर कार्यालयलाई तिर्नु÷बुझाउनु पर्ने कर कार्यालयकै सेटिङमा नबुझाई छलेको भन्दै आइतबार राजस्व अनुसन्धान विभागमा उजुरी परेको हो ।
करछलीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बीमा प्राधिकरणलगायतमा उजुरी गर्दा समेत सुनुवाइ नभएको र उल्टै सेटिङ गरेको भन्दै राजस्व अनुसन्धान विभागमा उजुरी परेको हो ।
सूर्या लाइफ करदाता नं. ३०२८३७१४४ ले आव २०७८/०७९ को वित्तीय विवरणको आधारमा गतवर्ष फागुन १९ गते मध्यस्तरीय करदाता कार्यालयबाट कर चुक्ता प्रमाणपत्र लिँदा करयोग्य आय शून्य राखेकोले वार्षिक अर्बौँ रुपैयाँ कारोबार गर्ने कम्पनीको करयोग्य आय शून्य हुनु करछली भएको उजुरीमा दाबी गरिएको छ ।
त्यस्तै उजुरीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्प्यान नं. ६०५९५४५५७ ले आव २०७८/०७९ को वित्तीय विवरणको आधारमा गतवर्ष फागुन १९ गते कर कार्यालय पोखराबाट लिएको कर चुक्ता प्रमाणपत्रमा करयोग्य आम्दानी ऋणत्मक रुपमा –१,४८,४६६,७०१ रुपैयाँ देखाउनु, दाखिला गरेको कर रकम शून्य देखाउनु, दुई अर्ब चुक्ता पुँजी भएको कम्पनीको कर शून्य देखाउनु नै करछली गर्ने उद्देश्य भएकाले छानबिन गर्न विभागसँग माग गरिएको छ ।
विभागमा परेको उजुरीमा सूर्या लाइफ र ज्योति लाइफको कारोबारको सुरुदेखिकै हिसाब हेरी हालसम्मको के–कति ठगी गरिएको छ, असुलउपर गर्न माग गरिएको छ ।
उजुरीमा ज्योति लाइफ इन्स्योरेन्सले पछिल्लो चार वर्षमा व्यवसाय प्रवद्र्धनबापतको खर्च बिल भरपाइमा प्यान बिल प्रयोग गरी भुक्तानी गर्दा नियम(ानुसार कट्टी गर्नुपर्ने १५ प्रतिशत अग्रीम आयकर कट्टी नगरेकोले सोबापत राजस्वमा दाखिला गर्नुपर्ने रकम समेत नगरेकोले छानबिन गर्न माग गरिएको छ ।