काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा सङ्घीय संसद्का २० सदस्यीय टोली सोमबार १० दिने चीन भ्रमणका लागि छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको छ ।
टोलीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का पाँचरपाँच, नेकपा (माओवादी केन्द्र) का तीन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का एकरएक सांसद सहभागी रहेका छन् ।
टोलीमा नेकपा (एमाले)बाट दामोदर वैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा, नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी तथा सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्कालगायत छन् ।
सांसदहरुको टोली चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन चीन गएको हो । भ्रमण टोलीले चीनमा रहँदा बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।