काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए) को बद्री केसी समूहले गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्यका साथै सल्लाहकार पदमा गरेको मनोनयन तिब्र आलोचित बनेको छ । गत ११ औँ महाधिवेशनमा भेरो सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरोप लागेका केसीले विवादका बीच फेरि अर्को आलोचित कार्य गरेका हुन ।आइतबार भर्चुअल माध्यमबाट बसेको पदाधिकारी बैठकमा केही पदाधिकारीहरुको असन्तुष्टिका बीच केसी र महासचिव गौरीराज जोशीले एमालेको भातृसंगठन ओएनएफका कार्यकर्ता, कतिपयका आफन्त, निकटस्थ,आफन्त र भाइभजितालाई आईसीसी सदस्य र सल्लाहकारमा मनोनित गरेका हुन ।
बैठकमा महासचिव जोशीले प्रस्ताव ल्याउनेबित्तिकै केही पदाधिकारीले यसबारे पर्याप्त छलफल हुनुपर्ने भन्दै ‘नोट अफ डिसेन्ट’ नै राखेका छन । तर, सो कुराको सुनुवाइ नगरी प्रस्ताव पारित गर्ने काम गरिएको छ । यतिसम्मकी ११ औँ महाधिवेशनमा धाँधली गर्न सघाएको आरोप लागेका निर्वाचन समितिका सदस्यहरुलाई समेत उपहारस्वरुप सल्लाहकार पद उपहार दिने काम भएको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीका अनुसार धाँधलीमा सघाउने निर्वाचन समितिका सदस्यमध्ये एक नम्बरमा थिए टीबी कार्की । कतारका उनलाई सल्लाहकार बनाइएको छ । यस्तै युकेका चिरञ्जिवि ढकाल र जापानका भूषण घिमिरेलाई पनि सल्लाहकार बनाइएको छ । एनआरएनएको निर्वाचन समितिमा यादव प्रसाद ढुंगाना प्रमुख निर्वाचन अधिकृत रहेका थिए भने सदस्यमा मन केसीसहित ढकाल, कार्की र घिमिरे रहेका थिए । केसीले पद लिन नमानेका कारण हाल कुनै पदमा मनोनित गरिएको छैन । ढुंगाना भने गैरआवासीय नेपाली नभएकाले मनोनीत गरिएको छैन ।
केही पदाधिकारीले त अध्यक्ष केसी र जोशीलाई पत्र लेखेर निर्णय गर्दा पर्याप्त छलफल गरेर मात्रै गर्न सुझाउँदै हतारमा भएका निर्णयले दीर्घकालीन असर पर्नसक्नेतर्फ सचेत गराएका छन । संघका अध्यक्ष बद्री केसीले पदाधिकारी बैठकले विधानअनुसार मनोनयन गरिएको दावी गरेका छन । संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यहरु मनोनयन गरिएको दाबी गर्दै उनले संघलाई अब गति दिइने बताए । तर, केसीको कार्यशैलीको विरोधमा अर्को कमिटी बनाएका अध्यक्ष आरके शर्मा र महेश श्रेष्ठले भने केसीको कार्यशैली धाँधलीको अर्को रुप भएको प्रतिक्रिया दिए । केसी पक्षलाई एनआरएनएका अभियन्ताहरुले नै नपत्याएको दाबी गर्दै उनले मनोनीत गर्ने मान्छे समेत नहुँदा आफन्त र नातागोतामा सीमित भएको बताए । उनले केसीले विधानको रटान लिँदै अरुलाई कारबाहीको धम्की दिएपनि आफू भने मिच्नमा माहिर रहेको बताउँदै १४ इन्चको घेराबाट उनी उम्किन नसकेको बताए ।
केसीले धाँधली गरेको प्रमाण विस्तारै खुल्दै गएको भन्दै अध्यक्ष शर्माले आफूहरुले न्याय पाउनेमा विश्वस्त रहेको बताए । हुन पनि केसी पक्षले गरेका मनोनयनमा अधिकांश आफन्त, नातागोता,पदाधिकारीको गर्लफ्रेन्ड र भाइभतिजा रहेका छन । यस्तै एमाले निकटका नेता र कार्यकर्ताहरु ७० प्रतिशत भन्दा बढी रहेका छन । केसीले एनआरएनएलाई पार्टीको भ्रातृ संगठनको हैसियतमा पुर्याएको दाबी शर्मा र श्रेष्ठ समुहको रहेको छ । ११ औँ महाधिवेशनबाट एक समूहले नयाँ कमिटी बनाउँदा आइतबारको प्रकरणबाट केसी समूहमै पनि असन्तुष्टि बढेको बताइएको छ ।
केसीको आइसिसि सदस्य मनोनयनमा पर्नेमा तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्चुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका(, ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका), र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहेका छन । यसैगरी चिरन शर्मा (यूके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी –(जापान), सरिता ढकाल –(जापान), ज्योति शर्मा (इजरायल), डा सञ्जु पौडेल (कोरिया) र विनेश तामाङ रहेका छन ।
यस्तै, सल्लाहकारहरुमा अतुल कोईराला, ओम गुरुङ , चिरन्जीबी ढकाल, देवि वस्नेत, प्रीतम श्रेष्ठ, रमेश पाण्डे, नारायण काफ्ले, दिनेश जोशी, सूर्य गुरुङ, भैरव ढकाल रहेका छन् । यसैगरी गोविन्द गौतम, टेकराज निरौला, हिराधन राई, संजय थापा, शिव वरुवाल, टिबी कार्की, कलममणी गुरागाई, होमनाथ शर्मा , रमेश पाण्ड, सन्जिव सापकोटा, यमुना भट्टराई, र रमेश थापा रहेका छन ।
मनोनीत हुनेमा उपाध्यक्ष रामशरण सिम्खडाकी बहिनी सरस्वती, हेमराज शर्माका भाइ चिरनदेखि रोजिना प्रधानका श्रीमान हिराधन,एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेको श्रीमती अन्जु खरेल,प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटीका अध्यक्ष संजय थापा रहेका छन । यस्तै केसी समूहका अधिकांश पदाधिकारीका आफन्त ,नातागोता र प्रवासी नेपाली मंचका नेताहरु मनोनीतमा परेका छन । यो प्रकरणले एनआरएनएभित्र थप विवाद बढ्ने र संस्थाको गरिमामा थप प्रश्न उठ्ने अभियन्ताहरुको भनाइ छ । उनिहरुले एनआरएन भन्दा पनि यो एमालेको भातृ संगठन प्रवासी नेपाली मंचनै भएको भन्दा पनि हुने बताए ।