ग्लोबल आइएमई बैंकको अगुवाईमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ ।काठमाडौंमा आयोजित एक विशेष समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्यूआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरूपमा शुभारम्भ गरेका हुन् ।
उक्त प्रविधिमार्फत ग्लोबल आइएमई बैंकका भिजा कार्डबाहक ग्राहकहरूले अब फिजिकल कार्डको प्रयोगविना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर क्यान गरी कुनै पनि पेमेन्ट गर्न सक्नेछन् । भिजा स्क्यान टू पे एउटा कार्डदेखि व्यापारी भुक्तानी सेवा हो । यसबाट कार्ड स्वाइप नगरी आप्mनो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बैंकले जारी गरेको यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए ।
उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको डिजिटल नेपाल निर्माणको लक्ष्यानुसार नयाँ–नयाँ प्रविधिको विकास गरेकोमा बैंकलगायत संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले ग्लोबल आइएमई बैंक नयाँ–नयाँ प्रविधिको विकास र विस्तारमा सधँै अग्रणी रहेको बताउँदै नयाँ प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि उत्तिकै जरुरी भएको र सबै सरोकारवाला मिलेर यसको प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुब्बाले प्रविधिको विकास र विस्तारमा सबै सरोकारवालाहरूबीच ठूलो सहकार्यको आवश्यकता रहेको बताए । स्विफ्ट टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले डिजिटल प्रविधिको विकास अहिलेको चर्चाको विषय रहेको बताए । भिजाका नेपाल, बंगलादेश तथा भुटानका लागि कन्ट्री म्यानेजर सौम्य बासुले नयाँनयाँ प्रविधिको अनुशरण गर्न नेपाल अगाडि रहेको बताए ।
ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नयाँ–नयाँ डिजिटल प्रविधिको विकासभन्दा यसलाई अनुशरण गर्न ठूलो समस्या रहेको बताउँदै डिजिटल प्रविधिको प्रयोग बढाउन आवश्यक पूर्वाधार विकासमा सहयोग गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङः सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेलले नयाँ प्रविधिको प्रयोग तथा यसका फाइदाबारे बताए ।