काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको तार्केश्वर बस्ने चितवनका ४० वर्षीय नविन खड्का र तार्केश्वरै बस्ने हेटौडाकी ३३ वर्षीया चमेली चुहान पक्राउ परेका हुन् ।
उनीहरुले जगत बहादुर बिष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ खर्च लाग्छ भनि ठगी गरेका थिए । दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी उनीहरुले प्रलोभनमा पारी बिष्टबाट पटकपटक गरी तीन लाख रुपैयाँ रकम लिई उनीहरु सम्पर्कविहीन भएका थिए ।
काठमाडौंं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज नविन खड्का र चमेली चुहानको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई मंगलबार बालाजुबाट र नविन खड्कालाई नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जानकारी गराएको छ ।