काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरको छ । उखु किसानले प्रतिक्विन्टल न्यूनतम छ सय ३५ रुपैयाँ मूल्य पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल छ सय ३५ रुपैयाँ तोकेको हो ।
तोकेको मूल्यमध्ये सरकारले किसानलाई ७० रुपैयाँ अनुदान दिनेछ भने पाँच सय ६५ रुपैयाँ उखुमिलले दिनेछन् । उखुकिसानले उखुको मूल्य निर्धारणको माग गर्दै आएका थिए । उनीहरुले प्रतिक्विन्टल सात सय ५० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका थिए ।
गतवर्ष उखुको न्यूनतम खरिदमूल्य प्रतिक्विन्टल छ सय १० रुपैयाँ थियो । जसमध्ये सरकारले ७० रुपैयाँ र मिलले पाँच सय ४० रुपैयाँ दिनेगरी निर्धारण भएको थियो । विगतमा तिहार सकिएलगत्तै उखुको मूल्य निर्धारण हुनेगरेकामा यस वर्ष केही ढिलोगरी निर्धारण भएको छ ।