हनोई । विश्व बैंकले भियतनामी अर्थतन्त्रको संकट समाधानका लागि आर्थिक सहायता कार्यक्रमलाई अर्को वर्षसम्म निरन्तरता दिन सुझाव दिएको छ । भियतनामी अर्थतन्त्रले अझै पनि संकटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आग्रह गरेको छ ।
विश्व बैंकले भियतनाम म्याक्रो मोनिटरिङ रिपोर्टमा यस्तो सुझाव दिएको हो । बैंकले घरजग्गा बजारको विश्वास बढाउन प्रयास गर्नुपर्ने बताएको छ । सन् २०२३ को पहिलो ११ महिनामा भियतनाममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता निरन्तर वृद्धि भई २८ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०२२ को सोही अवधिको तुलनामा १४ दशमलव आठ प्रतिशतले बढी हो ।
बैंकले सन् २०२३ मा भियतनामको आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशत र सन २०२४मा साढे पाँच प्रतिशत हुने प्रक्षेपण गरेको छ ।